सुनिन् छाडे सारङ्गीका धुनहरु.......

कुनै दिन बम्बई र गोरखपुर नौतुनाका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दा लड्दै विरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाईने दाईहरु हिजोआज देखिन छाडेका छन् । 
        देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारे लगायतका भाखामा खबर दिदै घुम्ने गाईने दाई (गन्धर्वहरु) लोप हुँदैछन् । सारङगीको धुनमा घटनाक्रमहरुलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसुचित बनाउने गाईने दाईका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।  
        सूचना र संचारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र संचार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोवाईल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाईने खवरमुलक मर्मस्पर्शी ह्दय विदारक गीत गुञ्जन छाडेका छन् । 
गाउँगाउँमा खबर सुनाउँदै हिड्ने गाईने दाईको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेसालाई निरन्तरता दिदै जीवनयापन गरेका छन् यहाँको एक गन्र्धव परिवार । गुल्मी जिल्ला गडगाउँ गाविस–५ घरभई (हाल बागलुङ नगरपालिका– २ बस्ने) टोपबहादुर गन्र्धवले परम्परागत जातीय पेसाबाट आफ्नो ४ जना परिवारको गर्जाे टार्ने गरेका छन् । 
                  काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारङ्गी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक २÷३ सय रुपैयाँ आम्दानी हुने बताउँछन् । सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामाग्रीको सुलभ उपलब्धताले सारङ्गीको महत्व ह्वात्तै घटेको छ’ टोपबहादुरले भने– ‘संचार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो ।’ गन्र्धवले थपे–‘ संचार माध्यमहरुले सारङ्गीको महत्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ ।’ ‘कला संस्कृतिको धनी  देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन’– गन्धर्वले भने– ‘यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।’
             नेपाली संस्कृतिको महत्व र विरताको गाथा बोकेको सारङगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने दलित गैरसरकारी संस्था महासंघ बागलुङ कार्यक्रम संयोजक योगेन्द्र गान्धारीले बताए । सांगीतिक कक्षाको पाठ्यक्रममा सारङगी बाजालाई समावेश गरे सारङगीले जिवन्त पाउने गान्धारीको भनाई छ । युवा वर्गमा जातीय पेशा प्रतिबोध र वैदेशिक रोजगारको प्रतिसपर्धाले गन्र्धव पेसा संकटमा पर्दैगएको गान्धारीले बताए ।   
                  गन्र्धवको पेशा लोप हुनु भनेको नेपाली संस्कृतिको समेत लोप हुनु हो’ गन्धर्व संस्कृति कला संगठन अध्यक्ष पूर्णबहादु गान्धारीले भने– ‘सारङगीलाई राष्ट्रिय बाजा घोषणा गर्नुपर्छ ।’ सरकारको नीति तथा कार्यक्रममा गन्धर्व लगायत दलित समुदायको परम्परागत सीप विकासमा सहयोग गर्ने व्यवस्था मिलाईने छ भनेपनि हालसम्म कुनैपनि व्यवस्था नहुँदा पनि गन्धर्वको पेशा संकटमा परेको गान्धारीले बताए । 

2 comments:

krishna said...

http://naturebeuti.blogspot.com/

Anonymous said...

http://naturebeuti.blogspot.com/