बाख्रापालन आम्दानीको एक राम्रो श्रोत कृष्ण संयोग


जिल्लाका प्राय गाउँमा युवाहरु छैनन् र भएका पनि खेतीपाती वा पशुपालन गर्न मान्दैनन् । गाउँमा खेतीपाती गर्न भन्दा २÷४ लाख लगानी गरेर विदेश जान लालहित हुन्छन् । रेशका प्रेम लामिछानेलाई पनि पहिला यस्तै लाग्थ्यो कि स्वदेशमा बसेर केही गर्न सकिन्न । तर पछि बिस्तारै गाउँमा कुखुरा र बाख्रा पाल्न थालेपछि उनलाई अहिले विदेश जानैपर्छ भन्ने लाग्दैन । उनी भन्छन् ‘गाउँमा पशुपालन र तरकारी खेती गरेर पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ ।’
     लामिछाने अन्य ३३ जना साथीहरुसंग मिलेर दमेक गाविसको चापाखर्कमा बाख्रा र्फम सञ्चालन गरेपछि उनीहरु अहिले भन्न थालेका छन् ‘विदेश जान भन्दा यहि बसेर केही गर्ने प्रयास गरौँ ।’ १३ लाखबाट सुरु गरिएको चापाखर्कको बाख्रा फर्मको लगानी अहिले २१ लाख पुगेको छ । चापाखर्कमा बाख्रा फर्म सञ्चालनमा आएपछि ५ जनाले रोजगारी पाएका छन् । लामिछानेका अनुसार फर्ममा अहिले १ सय ३० ओटा बाख्रा छन् ।
‘अहिलेसम्म बाख्रा पालनको आम्दानी ठिक ठिकै छ’ उनले भने ‘आम्दानी भन्दा पनि गाउँमै केही गर्नुपर्छ भन्ने भावनाको बिकासका लागि हामीले यसो गरेका हौँ ।’ गाउँका युवाहरुले सक्रियता देखाएर गाउँमै केही गर्छौ भन्ने हो भने स्वदेशमै बसेर राम्रो कमाई गर्न सकिने उनी बताउँछन् ।
‘संबिधानसभाको सदस्य जस्तो मान्छेले बाख्रापालन गरेका छन् र मासु पसल खोलेका छन्’ युवा नेता गगन थापाले मासु पसल सञ्चालन गरेको उदाहरण दिँदै लामिछानेले भने ‘थापाले गरेको हेरेर पनि हामी जस्ता युवाहरुले गाउँमै केही गर्न आवश्यक छ ।’
त्यसैगरी बागलुङ बजारका युवाहरुले पनि बाख्रा फर्म सञ्चालन गरेका छन् । उनीहरुको उद्देश्य पनि यहि हो कि गाउँका मान्छे अवसरको खोजीमा शहरतिर नआउन र गाउँमै केही गरुन । खासगरी बागलुङ देखि बुर्तिबाङ सम्म सिधै सवारी चल्न थालेपछि ओझेलमा परेको नरेठाँडीको डाँडोमा सदरमुकाम बागलुङ बजारका ४ जना युवाहरुले झण्डै डेड करोडको लगानीमा बाख्रा फर्म खोलेका हुन । 
बागलुङ बजारका प्रकाश अचार्य, जीवन आचार्य, निर्मल गौचन र कुमार खड्काले संयुक्त रुपमा खोलेको यो बाख्रा फर्ममा अहिले १ सय ७० ओटा बाख्राहरु छन् । नेपाल कृषिप्रधान देश हो भन्ने तर कृषीको केही काम पनि नगर्ने प्रचलन बढीरहेका बेला गाउँका मानिसहरुले पनि गाउँमै केही गर्नुपर्छ भन्ने सिकुन् भनेर सदरमुकामदेखि झण्डै ३० किलोमिटर पश्चिममा पर्ने नरेठाँटी गाविसमा आएर बाख्रा फर्म खोलेको कुमार खड्काले जानकारी दिए । 
        आफुहरु अरु पेशामा व्यस्त हुन परेपनि त्यहाँका स्थानीय युवाहरुलाई रोजगारी मिलोस् र उनीहरुले पनि आफ्नै ठाउँमा दुःख गर्नुपर्छ भन्ने पाठ सिकुन् भनेर नै नरेठाँटीमा बाख्रा फर्म खोलेको उनीहरु बताउँछन् । नरेठाँटीको सो फर्ममा अहिले ६ जना स्थानीयले रोजगार पाएका छन् । ‘डेड करोड लगानी गरेपनि हामीले खासै आम्दानी गर्न सकेका छैनौ’ फर्मका लगानीकर्ता कुमार खड्काले भने ‘तर त्यहाँका ६ जना कामदारलाई तलब खुवाउन राम्रैसंग पुगेको छ ।’
     शहर बजारमा घाँसपातका साथै पानीको पनि समस्या हुने भएकाले नरेठाँटीमा वाख्रा फर्म खोलिएको उनीहरु बताउँछन् । ‘शरमा सबै कुरा छ भनेर घर जग्गा बचेर बजार छिर्नेहरुपनि छन्’ फर्मका अध्यक्ष जीवन आचार्यले भने ‘तर शहर बजारमा भन्दा गाउँमा आम्दानीका प्रसस्त आयामहरु छन् ।’ 

No comments: