विस्थापित माझीलाई वैकल्पीक व्यवस्था गरिने कृष्ण संयोग बागलुङ,साउन


बाङ्गेचौर खेलमैदान परिसरमा बस्दै आएका माझी समुदायलाई बाग्लुङ नगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भएको छ । बाग्लुङ—पोखरा राजमार्ग निर्माणको क्रममा २०४६ सालमा निरयघाटबाट १४ माझी परिवार विस्थापित भएका थिए । विस्थापित भई खेलमैदानमा बस्दै आएका माझीलाई पुरानै नयाँ ठाउँमा आवासको व्यवस्था गर्न लागिएको हो । 

बाग्लुङ नगरपालिककाले माझीगाउँमा पुर्वाधार तयार गर्न सुरु गरेको छ । हेरक माझी परिवारलाई तीन आनाको दरले जग्गा प्रदान गरी बस्ती व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ । लोपोन्मुख माझीको संरक्षणको लागि जग्गा दिएर बस्ती बसाउने तयारी भैरहेको नगरपालिकाका कार्यकारी अधिकृत मुकुन्द शर्माले बताए । ‘जग्गाको प्लटिङ प्रक्रिया सुरु भैसकेको छ,’ शर्माले भने, ‘केही जग्गा अपुग भएकोले व्यक्तिको निजी जग्गा सट्टा पट्टा गर्दैछौँ ।’ 

हरेक परिवारलाई तीन आनाका दरले जग्गा उपलब्ध गराई ब्लकका घर समेत बनाउने नगरपालिकाले योजना बनाएको छ । ‘जग्गाको प्लटिङ भैसकेपछि दाताको खोजी गरेर हाउजिङ समेत बनाईदिने तयारीमा छौँ,’ शर्माले भने ‘दाताको समेत खोजी भैरहेको छ ।’ दुई दशक अगाडि विस्थापित माझी बाङ्गेचौर खेलमैदान परिसरमा छाप्रा बनाएर जिविकोपार्जन गर्दै आएका छन् । सरकारले सडक निर्माणको क्रममा मुआब्जा वा जग्गा उपलब्ध गराउने आस्वासन दिएपनि अहिलेसम्म कुनै सहयोग नगरेपछि नगरपालिकाले काम थालेको हो ।
माझी बस्ती व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति समेत गठन भएको योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘प्रजिअको संयोजकत्वमा समिति गठन गरेर काम अगाडि बढेको छ,’ सुवेदीले भने,‘ विभिन्न निकायसँग समन्वय गरेर काम अगाडि बढाउछौँ ।’ माझी बस्ती व्यवस्थापनको लागि लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
आफ्नो लालपूर्जाको जग्गा बाटो खन्दा पुरिएपछि घर न घाट भएका माझीमा जग्गा पाउने खवरले आशा जगाएको छ । ‘मोटरबाटोले पुरेपछि सवै घरबार विहिन बनेका थियौँ, ’ बाग्लुङ नगरपालिका—१ बाङ्गेचौरमा बस्दै आएका कर्णबहादुर माझीले भने, ‘जग्गा दिएर घर बनाईदिने खबरले २२ बर्षपछि केही आशा जागेको छ ।’ माझी समुदायलाई कुनै निकायबाट सहयोग नपाएपछि दैनिकी पीडादायी छ । समय—समयमा यस्ता आश्वासन पाएपनि काम नभएको उनीहरुको गुनासो छ । ‘छँदाछँदैको जग्गा जमीन गुमेपछि सुकुम्वासी भएका छौँ,’ चन्द्रकली माझीले भनिन्–‘आश्वासन धेरै पाईयो, हेरौ काम हुन्छ कि हुँदैन ।’

No comments: