अंश खोज्दै २ वर्ष देखि बागलुङ सदरमुकाम बागलुङ असार

उमेरले ३ बिस नाघेकी बागलुङ दुदिलाभाटीकी एक बृद्धा बिगत २ बर्षदेखि न्याय खोज्दै सदरमुकाम धाईरहेकी छिन् । सदरमुकाम बागलुङमा शरणार्थी जीवनयापन गर्दै आएकी उनले दुई बर्षमा न त न्यायनै पाएकी छिन् न सम्बन्धीत निकायले उनको पिडा सुनेको छ ।
३४ बर्ष अघि दुदिलाभाटी गाविस गौँदीमा विवाह गरेकी दुदिलाभाटी गाविस–१ की ६५ बर्षीय रम्मा मगर अंशको खोजीमा बिगत दुई बर्षदेखि सदरमुकाममा भौतारिरहेकी छिन् । विवाह गरेपनि २८ बर्षसम्म माईतीमा बस्दै आएकी मगरका एक मात्र भाई शिवलाल पुनको २०६५ सालमा मृत्यु भएपछि उनका भाईको नाममा रहेको सम्पत्तीमा अरुले रजाई गर्दै आईरहेका छन् ।
भाईको क्रिया गरेका चौराहकै खड्के पुन र डिले पुनले २ रोपनी जग्गा हडपेपछि आफु घर न घाटको भएको मगरले बताईन । ‘मलाई भाई बित्दासाथ तेरो अधिकार छैन भन्दै घरमा पस्न दिएनन्’ आँशु पुच्छ्दै मगरले भनिन् ‘मुटुको रोगी म अहिले भौतारिँदै हिड्नु परेको छ ।’
जग्गा दिन्छन कि भन्दै आश गरेपनि भाई बितिको दुई बर्षसम्म पनि जग्गा नपाएपछि प्रहरी र महिला बिकास कार्यालय पुगेपछि आफ्नो पीडाको सुनुवाई नभएको मगरले बताईन् । ‘हातमा लालपुर्जा बोकेर न्याय खोज्न म प्रहरीकहाँ समेत पुँगे’ मगरले भनिन् ‘तर प्रहरीले अदालत जान भन्यो, अदालत जान सकेकी छैन ।’
उनका भाईको मृत्यु भएको २ बर्षसम्म सचिवले यो साता मात्रै मृत्यु दर्ता गरिदिएको मगरले बताईन । ‘भाईको मृत्यु भएको दुई बर्षसम्म मृत्यु दर्ता भएन्’ उनले भनिन् ‘बल्ल बल्ल यो साता मात्रै मृत्यु दर्ता त भयो तर नाता प्रमाणित भएको छैन ।’ सचिवले नाता प्रमाणित गर्दै जग्गा तिम्ले पाउँदिनौ भन्दै थर्काएको उनको दुखेसो छ । मुटुरोगी मगरलाई अस्पतालले मुटुको भल्व फेर्न भनेको छ तर उनीसंग पैसा नभएकाले त्यो सम्भव हुन सकेको छैन ।
मालपोत कार्यालय बागलुङले भने मृतक पुनका कोही आफन्त नभएको खण्डमा दिदिबहिनिनै पहिलो हकदार हुने बताएको छ । ‘कानुनी रुपमा मृतकको नजिकको हकदार को हो खोज्नुपर्छ’ मालपोत अधिकृत नारायण पाण्डेले भने ‘यदि मृतकका श्रीमती र छोराछोरी कोही पनि नभएको खण्डमा दिदीबहिनीनै पहिलो हकदार हुन्छन् ।

No comments: