बिचल्लीमा परेकी बालिकालाई न्याय दिलाउन अपिल कृष्ण संयोग बागलुङ, ८ साउन


आमाले दोस्रो विवाह गरी बसोबास गर्दै आएको घर पनि बेचिदिएपछि विचल्लीमा परेकी  बागलुङ नगरपालिका वडा नं– ३ कीे १४ वर्षीय बालिका सन्तोषी रुचाललाई न्याय दिलाउन उत्पीडित दलित समुदायको संजाल बागलुङले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । 
बालिका सन्तोषीको गाँस, बास, कपाससँगसँगै पढ्ने लेख्ने कुराको निधो नभएकोले सम्पत्ति, जीवन सुरक्षा, शैक्षिक अधिकार जस्ता आधारभूत अधिकारवाट वञ्चित भएको भन्दै संजालले जीवनरक्षा र न्यायको पहल गरिदिन प्रजिअ ख्यामबहादुर थापालाई ज्ञापन पत्रमार्फत आग्रह गरेको छ । 
ज्ञापनपत्र बुझदै प्रजिअ थापाले छिट्टै नै बालकल्याण समितीको बैठक राखी सन्तोषीको गाँस बास कपास तथा अन्य कुराहरुको व्यवस्था गर्ने  बताएका थिए । सन्तोषी हाल आफन्तको शरणमा रहेकी छन् । घर बेचेको थाहा पाएपछि पीडित बालिकाले अदालतमा लिखित बदर हक कायम सम्पत्ति फिर्ता सम्बन्धी मुद्दा दिएकोमा जिल्ला तथा पुनरावेदन अदालत बागलुङले बकसपत्र लिई बेचेकोले वदर नहुने भन्दै सन्तोषीको विपक्षमा फैसला सुनाएको थियो । जिल्ला तथा पुनरावेदन अदालतले दिएको निर्णयमा चित नबुझेपछि सन्तोषी सर्वोच्चमा पुगेकी छन् । उनको मुद्दाको पेशी सर्वोच्चले यही साउन ९ गते तोकेको छ ।
संजालले अदालतको फैसला अनुसार कर्मचारी खटाई नाबालिका सन्तोषी रुचालको लत्ता कपडा, खाने बस्ने सामान, कापी कलम, किताव समेत फाली विचल्ली पारेको प्रति गहिरो दुःख व्यक्त गरेको छ । 

No comments: