सुटिङका पेस्तोल र राइफल खिया लागेर बिग्रिए कृष्ण संयोग बागलुङ, साउन


कुनै दिन यस्ता थिए जतिबेला राष्ट्रिय स्तरका सुटिङ् टुर्नामेन्ट हुँदा पश्चिमाञ्चलबाट बागलुङ निर्विरोध छनौट हुन्थ्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको बागलुङ जिल्लामा अहिले भने सुटिङ् खेलाडीको खडेरी छ । खेलकुद सामग्री भएर पनि सुटिङ्को प्रशिक्षक नहुँदा बागलुङबाट सुटिङ्का नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् ।
जिल्ला खेलकुद विकास समितीमा सुटिङ् प्रशिक्षकको दरबन्दी नभएपछि जर्मन र चीनमा बनेका २ एयर राइफल र एक पेस्तोल वर्षौदेखि थन्किएका छन् । धौलागिरी अंचल खेलकुद विकास समितीका तत्कालिन सचिव महेन्द्रमान शाक्यका पालामा ल्याईएका एयर राइफल र पेस्ताल प्रयोगमा नआएपछि अहिले खिया लागेर कामै नलाग्ने भएका छन् । 
photo of  bgl
करिब ५० हजारदेखि १ लाखसम्म पर्ने सुटिङका सामग्रीहरु खिया लागेर कामै नलाग्ने भएको जिल्ला खेलकुद विकास समिति बागलुङका निमित्त कार्यालय सचिव भीमसेन शाक्यले बताए । पञ्चायतकालीन सुटिङ् प्रशिक्षक नीलम खड्का जापान पलायन भएपछि बागलुङबाट सुटिङको दरबन्दी खारेज भएको शाक्यको भनाई छ । 

सुटिङ खेलमा राम्रो संभावना बोकेको बागलुङमा सुटिङ प्रशिक्षकको दरबन्दीको लागि क्षेत्रीय खेलकुद र राष्ट्रिय खेलकुद परिषदमा पटक–पटक माग गरिए पनि बेवास्ता गरिएको खेलकुद विकास समितीको भनाई छ । ‘सुटिङको राष्ट्रिय प्रतियोगिता हुँदा पश्चिमाञ्चलबाट निर्विरोध हुने बागलुङले बहुदल पछि प्रशिक्षकको अभाव झेलिरहेको छ’ सुटिङ प्रतियोगिता हुँदा अफिसियलको भूमिका समेत निर्वाह गरेका शाक्यले भने, ‘बागलुङका सुटिङ खेलको राम्रो संभावना छ तर, प्रशिक्षकको दरबन्दी नहुँदा सुटिङ प्रशिक्षण सुनसान छ ।’
इन्डोनेसिया, भारतका मद्रास, दिल्ली, कतार, श्रीलंका, कुवेतका भएका अन्तर्राष्ट्रिय प्रतियोगिता र अष्ट्रेलियाको सिड्नी ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भगवती खड्का जस्ता खेलाडी जन्माएको बागलुङमा सुटिङ् खेलका गतिविधि सुनसान हुनु दुःखद पक्ष हो । जिल्ला खेलकुद विकास समिती बागलुङका अध्यक्ष बाबुलाल शाक्यले भने, ‘राष्ट्रिय खेलकुद परिषदमा सुटिङ् प्रशिक्षकको दरबन्दीको लागि तत्काल पहल गरिनेछ ।’
बागलुङमा सुटिङ् गतिविधि सुनसान हुँदा अन्तर्राष्ट्रिय खेलाडि भगवती खड्का पनि निराश छिन् । खड्का भन्छिन, ‘सुटिङ् प्रशिक्षकको लागि क्षेत्रदेखि केन्द्रसम्म धेरै पहल गरियो तर सुनुवाई कतैबाट भएन ।’ विगतमा बिना शुल्क सुटिङ प्रशिक्षण समेत दिएकी खड्काले बागलुङमा सुटिङ खेलको राम्रो संभावना देखेको बताइन् । 

No comments: