सुडान घोडालामा मेरो संलग्नता छैन–गौतम


कृष्ण संयोग
बागलुङ,साउन
           नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमले सुडान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सुडान घोटाला प्रकरणमा तत्कालिक गृहमन्त्रीहरुलाई उन्मुक्ति दिईएको भन्ने चर्चा चलिरहेका बेला पुर्वगृहमन्त्री समेत रहेका गौतमले यस्तो बताएका हुन् । 
                                                                                         प्रेस नेपाल जिल्ला शाखा बागलुङले बिहिबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गौतमले भने, ‘सुडानमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीलाई एपिसीको व्यवस्था गर्ने काम सबै प्रहरी संगठनले गरेको थियो, यसमा राजनीतिक दलको कुनै संलग्नता थिएन् ।आफु गृहमन्त्री हुँदा सुडान एपीसि खरिदबारे सञ्चारमाध्यममा समाचार आएपछि आफुले छानवीन समिति गठन गरेको बताउँदै गौतमले सुडानमा खटिएका प्रहरीलाई एपीसीबारे कस्तो किसिमको सम्झौता भएको हो भन्ने विषयमा समेत आफुलाई जानकारी नभएको दाबी गरे । ‘एपीसि खरिदबारे आफुलाई कुनै प्रस्ताव आएन’ गौतमले भने, ‘गृह प्रशासन क्षेत्र राजनीतिबाट गाइडेड भएपनि सुडान एपीसी राजनीतिक नेतृत्व संलग्न छैन ।’
                     माओवादीमा देखिएको आन्तरिक गुटबन्दीका कारण शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अगाडि बढ्न नसकेको बताउँदै गौतमले शान्ति र संविधानसंग जोडिएको प्रमुख शक्ति नै आन्तरिक कलहमा रुमलिँदा शान्ति र संविधानमा ओझेलमा परेको बताए । एमाले भित्र गुटबन्दी भएपनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने काम नगरेको गौतमले जिकिर गरे ।  
‘संविधान र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने नपुग्ने माओवादीको निर्भर छ’ गौतमले भने, ‘माओवादी र एमालेबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न सके जेठ १४ चौध भित्र संधिानको मस्यौदा ल्याउन सकिन्छ ।’ जिम्मेवार दलहरु संविधान निर्माण भन्दा पनि वादविवाद र गुटउपगुटमा लागे देश संवैधानिक संकट फस्न सक्ने बताउँदै गौतमले भने, ‘देशलाई संवैधानिक संकटबाट बचाउन र संविधान निर्माणको लागि संविधान सभाको म्याद थप्नुपर्छ ।’
              पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सरकारको सुनिश्चित भए प्रधानमन्त्री झलानाथ खनालले राजीनामा दिई मार्ग प्रशस्त गर्ने बताउँदै गौतमले भने, ‘सहमति कार्यान्वयन गर्न प्रम खनाल दृढ हुनुहुन्छ ।’ प्रेस चौतारी बागलुङका अध्यक्ष रामकृष्ण बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव दीपक गौतमले गरेका थिए । 

No comments: