राजेशले तीन दिन मनाए यस वर्षको जन्मदिन


नेपाली चलचित्रका महानायक राजेश हमालले यस वर्षको आफ्नो जन्मदिन तीन दिन मनाएका छन् ।
राजेशले आफ्नो ४८औँ वर्ष बुधबार अपराह्न राजधानीको गोपीकृष्ण हलमा मनाए । गोपीकृष्णमा चलचित्र दुलही’को प्रिमियर सोको अवसरमा निर्माणपक्षले राजेशलाई चाबहिलको धोबीखोलादेखि गोपीकृष्ण हलसम्म दुलाहा बनाएर पञ्चेबाजा र जन्तीसहित लगेका थिए । यस्तै जन्तीसँगै बेहुलीका रूपमा चलचित्रकी बेहुली सुमिना घिमिरे थिइन् ।
जन्तीका साथ दुलाहा बनेर गोपीकृष्ण हल पुगेका राजेशले आफ्नो जन्मदिन भन्दै केक काटे र सबैलाई केक पनि खुवाए अनि आफूले पनि खाए । योसँगै त्यहाँ उपस्थित सबैले राजेशलाई जन्मदिनको शुभकामना दिए ।
यसरी बुधबार साँझ गोपीकृष्ण हलमा केक काटेर जन्मदिन मनाएका राजेशले बिहीबार भने जन्मदिन मनाउनैका लागि जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्र पुगे । उनले यहाँ आफूले बनाएकी शारीरिक अपांग धर्मबहिनी मैना र उनका अरु अपांगता भएका साथीहरूसँग आफ्नो जन्मदिनको भन्दै केक काटे बहिनीलाई खुवाए, आफूले खाए र त्यहाँ रहेका बहिनीका सबै साथीहरूलाई पनि खुवाए ।
नेपाली तिथिअनुसार राजेशको जन्मदिन बिहीबार हो । तर, अंग्रजी तिथिअनुसार यसपटक उनको जन्मदिन शुक्रबार परेको छ । बुधबारदेखि जन्मदिन मनाउन सुरु गरेका राजेशले बुधबार सिनेकर्मीहरूसँग र बिहीबार अपांगता भएकाहरूसँग जन्मदिन मनाए । उनले शुक्रबार भने आफन्तहरूसँग जन्मदिन मनाएर ४९औँ वर्षमा टेकेका छन् ।

No comments: