अल्पसंख्यक कुमाल बालबालिकाले पढ्ने विद्यालय जोखिममा कृष्ण संयोग बागलुङ, भदौ






सरकारी निकायले सहयोग नगर्दा अल्पसङ्ख्यक कुमाल समुदायका बालबालिकाले पढ्दै आएको बागलुङ जिल्लाको दगातुम्डाँडा गाविसस्थित चण्डीथान प्राथमिक विद्यालय सञ्चालनमा कठिनाई भएपछि बन्द हुने अवस्थामा पुगेको छ । २०५७ सालमा स्थापना  भएको विद्यालयले सरकारी निकायबाट सहयोग नपाएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । 
‘विद्यालय सुरु भएको एक दशकसम्म पनि विद्यालयमा दरवन्दी पाएका छैनौँ, ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया घिमिरेले भनिन्, ‘शिक्षकलाई तलव खुवाउने श्रोत जुटाउन नसक्दा विद्यालय संचालनमा कठिनाई भएको छ ।’ करिब डेढ सय कुमाल बालबालिकाले अध्ययन गर्ने चण्डीथान विद्यालयमा कक्षा ३ सम्मको पढाई हुन्छ ।
विद्यालयमा तीनै जना शिक्षकलाई समुदायले नीजि श्रोतमा तलव खुवाउने गरेका छन् । विद्यालयमा भौतिक पूर्वाधार समेत नहुँदा कक्षा सञ्चालनमा कठिनाई भएको विद्यालयले जनाएको छ । बस्ने ठाउँ नभएपछि केही विद्यार्थीलाई छिमेकी विद्यालयमा पठाएको विद्यालयका प्रधानाध्यापक श्यामकला कुमालले बताइन् । 
विद्यार्थी भर्ना गर्न सक्दैनौँ भन्दा अभिभावकको हप्की खानु परेको  शिक्षिकाको भनाई छ । ‘विद्यार्थी भर्ना गरौँ भने राखेर पढाउने ठाउँ छैन, ’ शिक्षिका देवी कुमालले भनिन्, ‘घर छेउकै स्कुलमा भर्ना नगर्ने भन्दै अभिभावक रिसाउँछन् ।’ विद्यालयमा कक्षा कोठा र फर्निचरको अभावले २५ विद्यार्थीलाई त्रिभुवन मावि र दगा–६ मा रहेको सरस्वती प्रा.वि.मा पठाईएको विद्यालयको भनाई छ । 
आर्थिक झेलिरहेको विद्यालय अहिले सामुदायिक वन, आमा समूह र स्थानीयको आर्थिक सहयोगमा थामिएको छ । विद्यालयमा स्थानीय स्रोतबाट पढाउने शिक्षकले मासिक एक हजार तलबमा पढाउने गरेका छन्  । ‘आफ्नै गाउँका बालबालिका शिक्षित हुने भएकोले उचित तलब नपाएपनि पढाई रहेका छौ,’ शिक्षिका लक्ष्मी सापकोटाले भनिन् । 

No comments: